दुई सामान्य व्यक्तिबीच एउटा सामान्य जमीनको टुक्राका लागि भएको विवाद ३५ वर्षसम्म सुल्झ्नि नसक्दा नवलपरासीको वर्गदवा गाउँ हिंसाको ज्वालामा पर्न गयो । यो गाउँ उजाड भएको दशक बढी भइसक्यो, तर घटनाका कहालीलाग्दा असर अझ्ै आलै छन् । माओवादी र तत्कालीन सत्ताले बनाएको प्रतिकार समितिले व्यक्तिगत विवादमा हिंस्रक राजनीति गर्दा गाउँका निमुखाहरूले परिवार र सर्वस्व गुमाए । जसको परिपूर्ति कतैबाट हुन सक्दैन । तथापि शान्ति फर्कने संभावना भने कायमै छ ।
-कल्पना भट्टराई: खोज पत्रकारिता केन्द्र
यो घटना वास्तविक हो, तर चलचित्रको पटकथा जस्तै छ । २०३० सालतिर गोलही चमार नवलपरासीको सोमनी–७ मा पर्ने वर्गदवा गाउँका जमिनदार नन्दकुमार चौधरीको घरमा परिवार सहित हरूवा (स्थायी बँधुवा) बस्न आए । उनले रु.३०० मा जमिनदारकै सात कट्ठा जमीन पनि किने ।
जमिनदार नन्दकुमारको २१ बिघा जमीन थियो । गरीब गाउँलेहरू उनीकहाँ काम गरेर परिवार पाल्थे । चौधरीको घरभरी हरूवा–चरुवा थिए । गोलहीपछि हरूवा बस्न आएका गर्भी धोवीले पनि २०४० सालमा चौधरीबाटै १४ कट्ठा जग्गा किने ।
तर यी दुवै जग्गाको रजिष्ट्रेशन पास भएको थिएन । नन्दकुमारले गाउँकै बोधही हरिजन, जयसिंह हरिजन र सतन हजामलाई पनि यसैगरी जग्गा बेचेका थिए । ती जमीन पनि पास हुन बाँकी थिए । तर २०४४ सालमा नन्दकुमारको मृत्यु भएपछि उनले दुई हरूवासहित पाँच जनालाई बेचेको जमीन उनका तीनभाइ छोरा भागवत, सत्यनारायण र भरतमणिले अंशबण्डा गरेर लिए ।
बोधही, जयसिंह र सतनले किनेको जग्गा सत्यनारायण र भरतमणिको भागमा प¥यो । उनीहरूले थप रकम लिएर बोधही, जयसिंह र सतनको नाममा जग्गा पास गरिदिए ।
तर गोलही र गर्भीले किनेको जमीन भागवत चौधरीको भागमा प¥यो । उनीहरूले पनि भागवतसँग जग्गापास गरिदिन आग्रह गरे । भागवतले पनि अरू भाइहरूले गरे जस्तै रकम थप्न भने ।
गर्भी भन्छन्, “भागवतका बाबुलाई २०४० सालमै मूल्य तिरेर जग्गाको भोगचलन गरिरहे पनि रजिष्ट्रेशन पास भएको थिएन । नन्दकुमारकै हरूवा बसेको थिएँ, पास गरिदिन्छन् भन्ने विश्वास थियो ।”
तर २५ वर्षपछि, भागवत चौधरीले ‘जमीनको मूल्य बढिसक्यो, पैसा थप्यौ भने मात्र पास गरिदिन्छु’ भनेपछि गोलही र गर्भीसँग चौधरीको द्वन्द्व शुरू भयो । पैसा नथप्ने भए कमसल जग्गा पास गरिदिने भनेर भागवतले राखेको प्रस्ताव गोलही र गर्भी दुवैले मानेनन् । २०४५ सालमा गर्भीले पञ्चायत गुहारे । तत्कालीन प्रधानपञ्च देवेन्द्र त्रिपाठी, उप–प्रधानपञ्च मोहन चौधरी र बहादुर चमार रहेको समितिले भागवतकै पक्षमा निर्णय दियो ।
२०५६ सालमा भागवतले गर्भी र गोलहीसँग चल्तीको मूल्य पाए मात्र जग्गा पास गरिदिने बताए । तर दुवै जनासँग चल्तीको मूल्य तिर्ने हैसियत थिएन ।
भागवतसँग कुरा नमिलेपछि २०५८ सालमा मामिला गाविसमा गयो । गाविसले ‘चलेको मूल्य अनुसार लेनदेन गर्नू’ भन्यो, जुन पीडितका लागि सहज थिएन । उनीहरूले पहिले नै जग्गाको मूल्य तिरिसकेका थिए ।
स्थानीय शान्ति समितिका संयोजक भानुप्रसाद चौधरी भन्छन्, “एकपटक दुवै पक्षबीच मूल्य मिलान गरी जग्गा लेनदेन गर्ने सहमति भएको थियो । तर एउटा पक्षले पैसा नथपिकनै जग्गा पाउनुपर्ने र अर्को पक्षले चलेको मूल्य नपाई जग्गा नदिने भनेपछि सामान्य विवाद हिंसामा बदलियो ।”
द्वन्द्वको राजनीतीकरण
दशकौं संघर्ष गर्दा पनि जमीन पाउन नसकेपछि गोलही र गर्भीका परिवार निराश बने । गोलही वृद्ध भइसकेकाले उनका छोरा रामकिशुनले २०५८ सालमा माओवादीका जिल्ला जनसरकार प्रमुख चिनक कुर्मीलाई ‘न्याय पाऊँ’ भन्दै निवेदन दिए । तीन वर्षपछि, २०६१ कात्तिकमा माओवादीले भागवतलाई बोलाएर जग्गा पास गरिदिन दबाब दिए । तर भागवतले मानेनन् । माओवादीले यस मामिलालाई प्रतिष्ठाको विषय बनायो । अनि भागवत भारततिर गएको मौका पारेर उनका कान्छा छोरा प्रदीप चौधरीलाई अपहरण गरेर कुटपीट गरे । यसपछि भागवतले १० मंसीर २०६१ मा दुवैको नाममा जग्गा पास गरिदिए ।
तर माओवादीको आडमा जग्गा पास गराएको आरोप लगाएर भागवत र उनका जेठा छोरा संजय चौधरीले २५ मंसीर गर्भी धोवीलाई कुटपीट गरे, उनको घर तोडफोड गरिदिए ।
यसको बदलामा माओवादीले चौधरीको परिवारमाथि १७ पुसमा पुनः आक्रमण ग¥यो । त्यस दिन पनि भागवत घरमा थिएनन् । राति ८ बजेतिर खाना खान बसेका छोरा संजयलाई निकालेर घरदेखि ३०० मीटर टाढाको वीरेन्द्र प्राविमा लगेर गोली हानी हत्या गरिदिए ।
यसको प्रतिशोध लिन चौधरी परिवारका सबै सदस्यहरूले जिल्लामा माओवादी विरुद्ध सक्रिय प्रतिकार समितिमा उजुरी गरे ।
दुईतिरै बन्दूक
प्रतिकार समितिमा उजुरी परेपछि गाउँमा हतियार भित्रिन थाले । भागवतकै अगुवाइमा कुटपीट र लूटपाट शुरू भयो । रामकिशुन र गर्भी धोवीले माओवादी लगाएर आफ्नो छोरा मारेको भनी भागवतले प्रतिकार समिति परिचालन गरेर ५ फागुन २०६१ मा रामकिशुन हरिजनलाई अपहरण गराए । यसको तीन दिनपछि रामकिशुनको हत्या भयो । उनी गोपीगञ्जको व्यापारीकहाँ काम गरेर परिवार पाल्थे । उनकी बुहारी शान्ति हरिजनले भनिन्, “उहाँको लास पनि परिवारले देख्न पाएनन् ।” घरमूलीको हत्या भएपछि उनको नौ जनाको परिवार भारतको बिहारमा विस्थापित भयो । विवादित जग्गा खरीदकर्ता रामकिशुनका बुबा गोलहीको पनि २०६७ सालमा मृत्यु भयो ।
रामकिशुनको हत्या भएपछि माओवादी छापामारहरूले २ वैशाख २०६२ को राति सोमनी–७, वर्गदवा गाउँ घेरेर आक्रमण गरेर थप ११ जनाको हत्या गरिदिए । प्रतिकार समितिका सदस्यहरू लुकेर बसेको आशंकामा उनीहरूले गाउँलाई नै घेरा हालेर एक्कासी बम र गोली बर्साएका थिए ।
यस आक्रमणमा कमल धोवी (४१) लाई सुतिरहेको अवस्थामा घरबाहिर ल्याई गोली हानिएको थियो । सास छँदै प्रहरीले लुम्बिनी अञ्चल अस्पतालमा पठाए पनि त्यसै रात मृत्यु भयो । यिनका कान्छा भाइ चन्द्रभान पनि त्यही रात मारिए । बाँकी बचेका दुई दाजुभाइ भारत गएकाले बाँचे ।
माओवादीले रामसुरज यादवका १४ वर्षीय छोरा हृदयेशलाई आमाको काखैबाट खोसेर आँखै अगाडि गोली हानी मारिदिए । यादव भन्छन्, “त्यस बालकले गाउँमा के भइरहेको छ भन्ने समेत बुझ्ेको थिएन, तर मारिदिए । हामी गाउँमा बस्न सकेनौं, बाँचेकालाई त बचाउनै प¥यो भनेर गाउँ छाडेर परिवारसहित अर्को गाउँ जहदा, मझैनीमा बस्दै आएका छौं ।”
रामसुरजका दाइ रामप्रित यादवका १२ र १८ वर्षका दुई छोराहरू कमलेश र भरत (जितेन्द्र) पनि त्यसै रात मारिए । रामप्रितको वंश सखाप भयो । उनी भन्छन्, “मेरो त घर–संसार नै उजाडिदियो माओवादीले । अहिले भारतको ठुठीबारीमा ससुरालीको १० हात जग्गामा छाप्रो बनाएर बसेको छु । नेपालको गाउँको सम्झ्ना आयो कि रुन मन लाग्छ । कहिले त बेहोसै हुन्छु ।”
भारतको पञ्जाबमा मजदूरी गरेर परिवार पाल्दै आएका यादवको नेपालमा अहिले पनि १४ कट्ठा जमीन छ । भन्छन्, “हामी विस्थापित भएको ११ वर्ष भयो, तर नेपाल सरकारले पनि वास्ता नगरेकोले फर्कने हिम्मत गरेका छैनौं ।”
माओवादीको आक्रमणमा वशिष्ठप्रसाद चौधरीका दुई नाबालिग भाइहरू दीपेन्द्र र दिनेश पनि मारिए । आमाबुबा र भाइहरू सनही गाउँमा बसे पनि वशिष्ठको परिवार वर्गदवा बस्थ्यो । दुई भाइहरू उनको परिवारलाई भेट्न दुई दिनअघि वर्गदवा आएका थिए । माओवादीले वशिष्ठको घरमा आक्रमण गर्दा उनीहरू घरभित्रै थिए । उनीहरूलाई देख्नासाथ माओवादीले गोली चलाए । दीपेन्द्र र दिनेश घरभित्रै मारिए ।
त्यसबेला खाडी मुलुकमा भएकाले बाँचेका वशिष्ठ भन्छन्, “मेरा भाइहरूको केही दोष थिएन, तर मारिदिए ।” यस घटनापछि उनको परिवार पनि भारत पलायन भयो । उनीहरू पुरानो त्रासदी सम्झ्ँदै बसेका छन् ।
वर्गदवाकै ४८ वर्षीया प्रेमनीदेवी चौधरीलाई त्यस रातको त्रासदीले तर्साइरहन्छ । घरमै सुतिरहेका उनका श्रीमान् विजय र छोरो अभिमन्युलाई माओवादीहरूले ओछ्यानबाटै थुतेर बाहिर ल्याएर उनकै आँखा अगाडि कञ्चटमा गोली हानेर मारिदिए । अर्को छोरो कृष्णमोहनले भागेर ज्यान जोगाए । तर त्यसैदिन जहदाको मदानपुरबाट हरिश्चन्द्र लोनियाको घरमा पाहुना आएका राजेन्द्र लोनिया मारिए ।
शिक्षण पेशा गरेर गुजारा चलाउँदै आएका श्रीमान् मारिएपछि दुई छोरा पाल्ने जिम्मा प्रेमनीको काँधमा आयो । उनी भन्छिन्, “घटना आँखामा आइरहन्छ, घरमा बस्नै सक्दिनँ ।” घटनापछि पत्रकार र मानवअधिकारकर्मी आए पनि माओवादी र दलका नेताहरू सान्त्वना दिनसम्म नआएकोमा झ्न् दुःखी छन् उनी ।
माओवादी आक्रमणमा परी मारिएका ११ जनामा १४ वर्षीय दिनेश कोहर पनि परे । उनका दाजु मुन्नर कोहर भन्छन्, “मेरो त भाइ पनि मारियो, घर पनि ध्वस्त भयो । हामीलाई कसैले सहानुभूति पनि दिएनन्, क्षतिपूर्ति त परै रह्यो ।”
द्वन्द्वकालीन हत्या भएकाले यी सबै घटनाको विरुद्धमा हालसम्म कतै उजुरी परेको छैन । कसैलाई कारबाही पनि भएको छैन ।
देश छाड्न बाध्यहरू
१७ पुस २०६१ मा माओवादीले सञ्जय चौधरीको हत्या गरिदिएपछि भागवत चौधरीको १४ जनाको परिवार भारत पलायन भयो । उनीहरू भारतको बेलैया गाउँमा बस्छन् । भागवतले त्रिभुवन उच्च मावि बेलाटारीको प्राथमिक स्कूलमा ३० वर्ष सेवा गरेका थिए । महीनाको रु.१२ हजार तलब पाउँथे । गाउँको सात बिघा जमीनबाट राम्रो आम्दानी हुन्थ्यो । भारत पलायन भएपछि त्यहाँ पनि प्रावि शिक्षक बनेका छन्, तर कमाइ भने मासिक रु.४ हजार ८०० छ । भागवत दुखेसो गर्छन्, “मैले जमीन पास गरेर दिएकै थिएँ, माओवादी लगाएर मेरो छोराको हत्या गर्नुपर्ने थिएन । मेरो सब बर्बाद भयो, अब नेपाल किन जानु !”
भागवतले गाउँ छाडेपछि प्रतिकार समितिले माओवादी र तिनका समर्थकहरूमाथि आक्रमण गरे । गर्भी धोवी भन्छन्, “हाम्रो गाउँमा माओवादीले धेरै जना मारे । तर सबै दोष मलाई लगाए । गाउँलेले पनि तेरो कारणले यो सब भयो भने । अनि मर्ने–मार्ने खेल चल्यो । मैले पनि गाउँ छाडें । अब त्यो गाउँमा जान सक्दिनँ ।”
गर्भीको घरमा प्रतिकार समितिले २०६१ मा बम विस्फोट गराइदियो । त्यसबेला उनका छोरा चन्द्रघोष नेपाल प्रहरीको जवान थिए । घरमा प्रतिकार समितिले आक्रमण गरेलगत्तै चन्द्रघोषले जागीर छाडे । उनले नेपालको खेतबारी बेचे । भारत पसेको धोवी परिवार महाराजगंज जिल्लाको वर्गदवामा १० धुर जमीन किनेर त्यहीं एउटा छाप्रो बनाई बसेको छ । उनको घरमा सबैलाई सुत्न पुग्ने ठाउँ पनि छैन ।
पूर्व प्रहरी जवान चन्द्रघोष भन्छन्, “यतै ज्याला गरेर ८ जनाको पेट पाल्दैछु ।” दुःखी गर्भीले भने, “यहाँ धेरै दुःख छ । शान्ति भयो भने नेपाल जानुपर्ला भनेर नेपाली नागरिकता जतनसाथ राखेको छु ।”
माओवादीको आक्रमणमा ज्यान गुमाएका चन्द्रभान धोवीकी श्रीमती कमला तीन छोराछोरीसहित भारतको उत्तरप्रदेशमा पर्ने महाराजगंजको झ्ुलनीपुरमा बसेकी छन् । आफ्नै आँखा अगाडि श्रीमान् मारिएको देखेकी कमला घटना सम्झ्एिर रोइरहन्छिन् । उनकी जेठानी अलैंची धोवीले भनिन्, “गाउँ फर्क भन्छौं, उनी मान्दिनन् ।”
आन्तरिक विस्थापन
सोमनी–७, वर्गदवाका ४२ वर्षीय रामानन्दप्रसाद हरिजन भन्छन्, “अहिले पनि गाउँमा ढुक्कसँग बस्न सकेका छैनौं, त्यो घटना सम्झ्ँदा उनलाई डर लागिरहन्छ ।”
द्वन्द्वअघि सानो किराना पसलबाट गुजारा चलाइरहेका हरिजनलाई माओवादी विरुद्ध सक्रिय प्रतिकार समितिले लुटिदियो । २०६१ सालमा परिवारै लिएर परासी सरे । यहाँ साइकल मर्मत गरेर ६ महीना बिताए । अहिले गाउँ फर्किए ।
प्रतिकार समितिको डरले गाउँ छाडेका जयप्रकाश हरिजन सपरिवार परासीको मन्झ्रियामा बस्दै आएका छन् । विस्थापित हुनुअघि उनी देउराली गाविसको विद्यालयमा पढाउँथे । प्रतिकार समितिले कुटपीट र लूटपाट गरेपछि उनले गाउँ छाडे । प्रतिकार समितिले उनको घरमा पनि बम विस्फोट गराइदियो । जयप्रकाश भन्छन्, “गाउँको माया छ, शान्ति आएपछि जान्छु ।”
वर्गदवाको तीन बिघा खेत अधिया दिएका जयप्रकाशले परासीमा अर्काको खेत अधियामा लिएका छन् । वर्गदवाका २५ परिवार उनी जसरी नै आफ्नै देशभित्र शरणार्थी जीवन बिताउन बाध्य छन् ।
यी विस्थापित मानिसहरूलाई प्रतिकार समितिले माओवादी र माओवादीले प्रतिकार समिति समर्थक देख्थ्यो । दुवैले उनीहरू माथि आक्रमण गर्थे ।
यसरी विस्थापित हुन बाध्य भएका परिवारका बालबालिकाले बीचैमा पढाइ छाडे । उनीहरूमध्येका कोही वैदेशिक रोजगारीमा गए, केही खेतीकिसानी गरेर बसेका छन् ।
घाइतेको बेहाल
माओवादीले गाउँका दलित जति सबै माओवादी सदस्य हुन् भनेपछि चमार र हरिजनका घरघरमा पसेर प्रतिकार समितिले कुटपीट र लूटपाट मच्चाएको थियो । त्यसको शिकार भए— रामप्रित चमार । उनको घरबाट कुखुरा, परेवा, बाख्रा, अन्नपात, लत्ताकपडा, गरगहना र पैसा सबै प्रतिकार समितिले लुटेर लगे । लूटपाटपछि उनलाई पनि कोखामा भाला रोपेर घाइते बनाइदिए ।
रामप्रितले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराए । प्राथमिक उपचारपछि गोरखपुर जान भन्यो । गोरखपुरको निजी अस्पतालले भैंसालोटन पठायो । अस्पतालमा एक महीना २२ दिन बसेर उपचार गर्दा उनको श्रीसम्पत्ति सकियो । चल सम्पत्ति थिएन । अचल सम्पत्तिको नाममा रहेको तीन कट्ठा जग्गा बन्धकी राखेर रु.४० हजार लिएर उपचार गरे । तर त्यो पैसा तिर्न नसकेपछि जमीन छाडेर ऋणमुक्त भए । उनी भन्छन्, “खै सरकारले त एक रुपैयाँ पनि दिएन ।”
२०६२ सालको घटनापछि भारत पलायन भएका १४ परिवार र त्यसपछिको आतंकमा परी आन्तरिक विस्थापनमा परेका अन्य २५ परिवारले पनि राहतको नाममा केही पाएका छैनन् । एउटै वडामा एक वर्षभित्र मारिएका १३ जना सर्वसाधारणका परिवारहरू पीडा र घाउ लिएर बसिरहेका छन् । तर पनि एक दिन गाउँमा अवश्य शान्ति फर्कनेछ भनेर पर्खिबसेका छन् ।
बक्स १
नवलपरासीको प्रतिकार समिति
तत्कालीन शाही नेपाली सेना र प्रशासनको संरक्षणमा जिल्लाको दक्षिणमा पर्ने भारतीय सीमावर्ती १६ गाविसमा माओवादी विरुद्ध प्रतिकार समिति गठन गरिएका थिए । समितिमा आबद्ध झ्ण्डै ४०० सदस्यमध्ये २०० भन्दा बढी भारतमा अपराध गरी नेपालतर्फ आएर लुकिरहेका भारतीय नागरिक थिए ।
तिनीहरूलाई शाही नेपाली सेनाले त्रिवेणीस्थित बज्रदल गण मातहतको सीमा सुरक्षा गुल्ममा १५ दिनसम्म राखेर हतियार चलाउने तालीम दिई कमसल खालका हतियार थमाएको थियो । सेनाबाट पाएको तालीम, हतियार र निर्देशनलाई उनीहरूले स्थानीय सर्वसाधारणमाथि ज्यादती गर्ने लाइसेन्सको रूपमा दुरुपयोग गरे । स्थानीयलाई कुटपीट गर्थे र चन्दा पनि असुल्थे ।
प्रतिकार समितिको अगुवाइ गर्नेमा आपराधिक पृष्ठभूमिका मुरारी कुशवाह, मुन्ना खाँ, राधे मुखिया लगायतका भारतीय नागरिकहरू थिए । उनीहरूमध्ये सर्वाधिक खोजीको सूचीमा रहेका राधे मुखिया पछि भारतीय प्रहरीद्वारा समातिए, अरू सबै अहिलेसम्म उम्किइरहेका छन् । मुखिया अहिले अपहरण, चोरी–डकैती, कर्तव्य ज्यान लगायतका दर्जनभन्दा बढी कसूरमा भारतको तेतिया जिल्लास्थित बगाहा जेलमा थुनिएका छन् ।
बक्स २
हिंसाको मार महिलामा
९ पुस २०६१ को राति माओवादीले गराएको बम विस्फोटमा परी पक्लिहवा रतनगन्जका मैनुदिनले ज्यान गुमाए । छिमेकी मुन्ना खाँको घरमा माओवादीले बम विस्फोट गराउँदा त्यसैको चोइटाले लागेर बाटोमा हिंडिरहेका मैनुदिन मारिएका थिए ।
श्रीमान् मारिएपछि ऐसा नेसा (३७) लाई घरबाटै निकालियो । दुई छोरीहरूको पनि बिचल्ली हुने देखेपछि आफूभन्दा कान्छा देवरसँग बिहे गरिन् । तर सम्बन्ध राम्रो भएन । रोजगारीमा मलेशिया गएका देवर तीन वर्ष उतै बसेर फर्किएलगत्तै अर्को बिहे गरे । ऐसा भन्छिन्, “एउटा त मारिए, अर्कोले मलाई मार्दैछ ।” ज्याला मजदूरी गर्दै बसिरहेकी ऐसा अहिले श्रीमान् विरुद्ध अंशमुद्दा लडिरहेकी छिन् । सासू–ससुरा र श्रीमान्ले मुद्दा फिर्ता लिन दबाब दिइरहेका छन् ।
माओवादीले युद्ध बिसाएको ९ वर्ष भइसक्दा पनि वर्गदवा गाउँमा फैलिएको पारिवारिक र सामाजिक हिंसाको आगोले थुप्रै ऐसाहरूलाई यसरी नै पोलिरहेको छ ।
[२६ असोज १ कार्तिक २०७१ (12-18 Oct 2014) को हिमाल खबर पत्रिकामा प्रकाशित]