बेरोजगार युवालाई रोजगार बनाउन खोलिएको ‘युवा स्वरोजगार कोष’ दलका स्थानीय नेता–कार्यकर्ता, ब्यांक तथा सहकारी र उनीहरूले पत्याएका साना–ठूला व्यापारीको हितमा प्रयोग भइरहेको छ । नवलपरासी र पाल्पामा गरिएको खोज ।
-कल्पना भट्टराई: खोज पत्रकारिता केन्द्रका लागि
२०६५ सालमा नेकपा (माओवादी) नेतृत्वको सरकारले बेरोजगार युवालाई विना धितो सस्तो ब्याजदरमा रु.२ लाखसम्म ऋण उपलब्ध गराउन ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष २०६५’ कार्यक्रम घोषणा ग¥यो । कार्यक्रमको उद्देश्य सीप र जाँगर भएका तर पैसा नभएका युवालाई रोजगारीको अवसर सिर्जना गर्नुथियो । तर, कार्यक्रम सञ्चालनको तरीका र त्यसको प्रतिफल उद्देश्यभन्दा फरक पाइएको छ ।
स्वस्तिकलाई २०६९ सालमा कोषले रु.३० लाख कर्जा उपलब्ध गराएको थियो । तर, स्वस्तिकले रु.१८ लाख मात्र गाई फार्ममा लगानी ग¥यो । “रु.८ लाखमा शुरू गरेको गाई फार्ममा पैसा अपुग भएपछि त्यो रकम पनि हालियो”, सहकारीका व्यवस्थापक तारा न्यौपानेले कुरा नलुकाई भने, “फार्म घाटामा थियो, सहुलियत कर्जा पाएपछि त्यहीं लगायौं ।”
कार्यसमितिको बैठकबाटै कोषबाट आएको पैसा फार्ममा लगाउने निर्णय भएको उनले बताए । “पहिलो र दोस्रो किस्तामा शेयर सदस्यकै नाममा गाई फार्मका लागि सामूहिक कर्जा उपलब्ध गराएका छौं”, न्यौपानेले भने । तेस्रो किस्ताबापत आएको रु.१२ लाख एकमुष्ट पाडापालनमा लगाइएको छ ।
कागजमा चाहिं यो सहकारीका शेयर सदस्यको नाममा कर्जा उपलब्ध गराएको देखाइएको छ । तर, धेरै सदस्यलाई आफ्नो नाममा कर्जा लिएको समेत जानकारी छैन । नक्कली ऋणी खडा गरिएको विषयमा स्वस्तिक सहकारीका अध्यक्ष देवराज भण्डारी भन्छन्, “दुई वटा फार्म चलाउँदा पैसा अपुग भएपछि स्वरोजगार कोषको सबै पैसा यसैमा लगायौं । नाफा सबैले पाउँछन्, के भयो त !”
स्वस्तिकले किर्ते ऋणी खडा गरेको छ । सरकारी कर्मचारीका परिवार र स्वयं आफ्ना कर्मचारीका नाममा ऋण लगानी गरेको देखाइएको छ, जुन स्वरोजगार कोषको मापदण्ड विपरीत छ ।
नाम गरीबको, रजाइँ अरूको
बुटवलमा केन्द्रीय कार्यालय रहेको मिसन डेभलपमेन्ट ब्यांकले स्वरोजगार कोषबाट कर्जा लिएर नवलपरासी र रूपन्देहीका युवामा लगानी ग¥यो । तर, ब्यांक बेरोजगार युवालाई स्वरोजगार बनाउनतिर लागेन बरु विभिन्न संस्थाका सञ्चालक र प्रोप्राइटरलाई यो सुविधा उपलब्ध गरायो । “ब्यांकले सहुलियत ऋण लिन भनेर बोलायो, लिन गएँ”, रामनगर–१, भुमहीका स्टार कम्प्युटर इन्ष्टिच्युट तथा ट्रेनिङ सेन्टरका सञ्चालक नारायण पाण्डेले भने । उनका अनुसार यो कोषबाट रकम लिन खासै अप्ठ्यारो पनि भएन, अनुगमन गर्न पनि कोही आएन ।
पाण्डेको बुझइमा स्वरोजगार कोषको रकम कुनै पनि हालतमा लक्षित वर्गसम्म पुग्दैन । किनकि, लगानी डुब्ने डरले ब्यांकले विपन्न तथा निमुखालाई कर्जा उपलब्ध गराउँदैनन् । “कर्जा बेरोजगारका नाममा आएको हो तर के गर्नु उनीहरू कर्जा तिर्न सक्दैनन्”, उनी भन्छन्, “कर्जा तिर्न सक्नेले ऋण लिने हो ।” उनकी श्रीमती प्राविकी राहत शिक्षक हुन् । भुमही—भैरहवा सडकखण्डमा उनको दुईतले घर छ ।
“स्वस्तिकले किर्ते ऋणी खडा गरेको छ । सरकारी कर्मचारीका परिवार र स्वयं आफ्ना कर्मचारीका नाममा ऋण लगानी गरेको देखाइएको छ, जुन स्वरोजगार कोषको मापदण्ड विपरीत छ ।”
मीना क्षेत्री पनि ब्यांकबाट सहुलियत ब्याजमा कर्जा पाउने भाग्यमानीमध्ये एक हुन् । “जग्गा किन्दा पैसा पुगेन, त्यही पैसा हालियो”, स्वरोजगार कोषबाट कर्जा लिएको स्वीकार गर्दै उनले भनिन् । उनले गाईको गोठ देखाएर ऋण लिएकी थिइन् । रामनगर–८, नवीन टोलका तारा न्यौपाने स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक हुन् । उनलाई पनि ‘गुड पर्फर्मेन्स’ देखेर ब्यांकले कर्जा उपलब्ध गराएको हो । “स्वरोजगार कोषको कर्जा कर्मचारीले लिन नमिल्ने हो तर भैंसी किनेको पैसा तिर्न बाँकी थियो, त्यसैले लिएँ”, उनी भन्छन् ।
सहुलियत कर्जा लिनेमा अध्यापक र कर्मचारी पनि छन् । मोतीलाल बहुमुखी क्याम्पसमा पढाउने वसन्त सुवेदी र हाल तथ्याङ्क कार्यालय गोरखामा कार्यरत यज्ञमूर्ति भण्डारीले पनि स्वरोजगार कोषबाट कर्जा लिएका छन् । ऋण लिंदा भण्डारी सोमनाथ बाबा उच्च माविको मावि तहको शिक्षक पदमा कार्यरत थिए । सुवेदीलाई आफूले कर्जा लिएर के गरें भन्ने पनि पत्तो छैन । “खै केमा खर्च गरें, बिर्सिएँ”, उनले भने ।
नवलपरासीमा मात्रै कोषको १८ सहकारी र दुई ब्यांकमार्फत २०७२ फागुनसम्म करीब रु १० करोड लगानी छ । विपन्न र बेरोजगारलाई अवसर दिन गठन भएको स्वरोजगार कोषबाट ऋण पाउनेहरू सबैजसो हुनेखाने र पहुँचवाला छन् । उनीहरूले यो कर्जा लिनुको एकमात्र उद्देश्य सस्तो ब्याज हो । तर, यसको सोझे असरचाहिं ती युवालाई परेको छ, जससँग केही गर्ने जाँगर छ तर पैसा छैन । उनीहरूलाई सस्तो ब्याजमा कर्जा दिएर उद्यमशील बनाउन सरकारले यो कार्यक्रम ल्याएको हो ।