मलेसियाको प्रहरीकै मिलेमतोमा ठगिन्छन् नेपाली कामदार
अवैध रूपमा बसेको तथा विभिन्न अपराधमा संलग्न भएको आरोपमा १७ जना नेपाली मलेसियाको अध्यागमन विभागबाट विभिन्न समयमा पक्राउ परे। अध्यागमनको लेङ्गेङ् क्याम्प (पक्राउ परेका विदेशी कामदारलार्इ राखिने जेल) मा सजाय काटेर उनीहरू गएको १ मंसीरमा एकसाथ नेपाल फर्किए। नेपाल आएर परिवारसँग भेटेपछि उनीहरूको होश उड्यो, जेलमै रहेका बेला आफूहरूको नाममा दलालहरूले ठगी गरिसकेछन्।
श्रममन्त्री गोकर्ण विष्टसँग मलेसियामा ठगिएका पीडितहरू ।
प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीका अनुसार जेलबाट छुटाउन भन्दै दलालले सबैको परिवारसँग रु.१ लाखदेखि ४ लाखसम्म ठगी गरेका हुन्। दलालले मलेसिया अध्यागमनको क्याम्पका प्रहरीसँग मिलेमतो गरी परिवारलाई फोन गरेर पैसा असुलेको नेपाल फर्किएपछि मात्रै थाहा पाएको ठगीमा परेकामध्ये रौतहटका छोटेलाल साहले बताउँछन्।
“परिवारसँग रहेको आईएमई भौचरको आधारमा मलेसियाबाट पैसा पठाउन लगाउनेहरूको नाम पत्ता लागेको हो,” साह भन्छन्। त्यसरी पैसा असुल गर्ने ४ जना नेपाली नै रहेको खुलेको छ।
पीडितहरूका अनुसार दलालले नेपालमा कामदारका परिवारका सदस्यलाई फोन गरी उदयपुरका सुमन लिम्बू, महोत्तरीका विजयकुमार महतो, सप्तरीका रामदिनेश महतो र रौतहटका रामानन्द चौधरीको नाममा पैसा पठाउन लगाएका हुन्। आईएमई भौचरका आधारमा सबैभन्दा बढी रकम उदयपुरका लिम्बूको नाममा पठाउन लगाएको देखिन्छ।
पीडितहरूले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा चारै जनाविरुद्ध उजुरी दिएका छन्। श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग भेटेर ठगी गर्नेविरुद्ध कारबाही गर्न उनीहरूले माग पनि गरेका छन्। मन्त्री विष्टले कारबाहीका लागि पहल गर्ने आश्वासन दिएका छन्।
दलालका अनेक दाउ
एक वर्षअघि मलेसिया गएका धनुषाको ढल्केवर नगरपालिका-६ का मन्सीकुमार महतो (३९) अवैध रूपमा बसेर काम गरिरहेको आरोपमा पक्राउ परे। एक दिन प्रहरी हिरासतमा राखेर उनलाई त्यसपछि अध्यागमनको लेङ्गेङ् क्याम्पमा सारियो।
महतोलाई अवैध रूपमा बसेको आरोपमा त्यहाँको अदालतले ६ महीनाको कैद तोकेको थियो। अदालतले एक हजार रिङ्गेट जरिवाना तिरे कैद सजाय भुक्तान गर्न नपर्ने भनेको थियो।
साथीसँग सापटी लिएर जरिवाना रकम बुझाउने योजना बनाइरहँदा क्याम्पमा बसेका बेला उनलाई एक अपरिचितबाट तारन्तार फोन आउन थाल्यो। “नेपाली दूतावासको कर्मचारी हुँ भन्दै टिकटवापतको रकम रु.३० हजार दिए तुरुन्तै जेलबाट छुटाइदिने भन्न थाल्यो,” महतो भन्छन्, “मैले पैसा नदिने बताएपछि उसले मेरो परिवारलाई फोनमा धम्क्याएर पैसा माग्न
थालेछ।”
ती व्यक्तिले मन्सीकी श्रीमतीलाई ‘तेरो श्रीमानले चोरीको मोबाइल किनेको आरोपमा पक्राउ परेर धेरै सजाय तोकिएको छ। छुटाउने भए एक लाख रुपैयाँ पठाइदे’ भनेछन्। श्रीमतीले पैसा नपठाउने भनेपछि भान्जालाई फोन गरेर मामा गम्भीर बिरामी भएर अस्पताल भर्ना भएको र तत्काल पैसा नपठाए मृत्यु हुने भनेर २ लाख पठाउन भनेछन्।
त्यो खबर सुनेपछि भने उनकी श्रीमतीले ऋण काढेर तुरुन्तै रु. २ लाख पठाइदिइन्।
पीडितका परिवारले मलेसिया पठाएको रकमको भौचर ।
त्यति रकम हात पार्दा पनि दलालको मन भरिएन। त्यसपछि पनि दलालले मन्सीका दाजुलाई फोन गरेर भाइको मृत्यु भइसकेको र शव नेपाल ल्याउन २ लाख लाग्छ भनेछन्। दलालको ठग्ने जुक्ति थाहा नभएर उनका दाजु हेन्सुराज महतोले वडाको एक जनप्रतिनिधिसहित जनकपुरको सुरक्षित आप्रवासन परियोजना सामीमा पुगेर भाइको शव नेपाल झिकाउन पहल गरिदिन आग्रह गरे।
त्यसपछि मात्रै उनी जीवितै रहेको र दलालले ठग्न खोजेको पत्ता लागेको दाजु हेन्सुराजले बताए। भाइले जेल सजाय काटेपछि रु. ३२ हजारमा टिकट काटेर नेपाल फर्काएको उनी बताउँछन्।
“श्रम सम्झौताअनुसारको काम र तलब नपाएर त ठगिएकै थिएँ तर जेलमा हुँदा पनि ठगिएँ,” मन्सी भन्छन्। आफूलाई दूतावासको कर्मचारी बताएर ठगी गर्ने व्यक्तिलाई उनी चिन्दैनन्।
विदेश जानुअघि मासिक रु. १२ हजार कमाउने मन्सी त्यसले घर नचल्ने भएपछि रु. १ लाख ५१ हजार ऋण लिएर वैशाख २०७४ मा मलेसिया उडेका थिए। अवैध भएपछि ३ महिना १५ दिन जेल बसे। “पैसा कमाउन ऋण गरेर विदेश गएको थिएँ, फर्किंदा ऋणको बोझ झन् थपियो। अब कसरी पाल्नु बालबच्चा ?” उनी बह पोख्छन्।
मन्सीजस्तै ठगिएका झापा बाहुनडाँगीका युवराज आचार्य (३२) ले भनेजस्तो काम नपाएपछि कम्पनी बदलेका थिए। लागूऔषध प्रयोग गरेका एक तमिललाई पछ्याउँदै आएको प्रहरीले युवराज पनि त्यही कोठामा भेटेपछि पक्राउ गरेको थियो।
लागूऔषध प्रयोग गरेको आरोपमा उनलाई ९ महिनाको कैद सुनाउँदै सुनाइपोलो जेलमा राखियो। जेलबाट लेङ्गेङ क्याम्पमा सारेपछि उनलाई पनि दूतावासको कर्मचारी बताउने व्यक्तिले रु.३० हजारको ‘पासो’ थाप्यो।
उनी भन्छन्, “त्यति रकममा जेलबाट छुट्न पाउने भएपछि उसलाई दिदीको नम्बर टिपाइदिएँ। तर, उसले त दिदीलाई पटक-पटक फोन गरी रु.२ लाख २६ हजार असुलेछ।”
सोही क्याम्पमा बसेका रौतहटका साहको परिवारसँग पनि मेनपावरको कर्मचारी बताउने व्यक्तिले घरमा फोन गरेर जेलबाट छुटाइदिने भन्दै रु.३ लाख ३२ हजार पैसा असुलेका थिए। उनको परिवारले तीन कठ्ठा जग्गा रु.४ लाखमा बेचेर उक्त रकम पठाएका थिए।
यसैगरी, सप्तरीका राजदिनेश महतोका परिवारले रु.१ लाख ३२ हजार, रौतहटका संसाद मियाको परिवारले रु.४ लाख, रौतहटकै अस्लिम मियाँ कँवारीका परिवारले रु.१ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाएका थिए। उनीहरूसहित क्याम्पमा रहेका १७ जना नेपाली यसरी नै दलालको ठगीमा परेका छन्।
झापाका युवराज क्याम्पमा बसेका अन्य देशका कामदारको अवस्था बुझेर स्वदेश फर्काउन सम्बन्धित देशमा रहेको उनीहरूको दूतावासका अधिकारीहरू आउने गरेको तर नेपाली दूतावासबाट कसैले चासो नराख्ने गरेको गुनासो पोख्छन्। “त्यसैले हामीले जेलमा समेत यातना सहनुपर्छ,” उनी भन्छन्, “दूतावास हाम्रो अवस्था बुझ्न आएमा हामी यसरी ठगीमा पर्दैनथ्यौं।”
कसरी हुन्छ ठगी ?
मलेसियामा अवैध कामदार पक्राउ परेमा सामान्यतया तीन महिना प्रहरी हिरासतमा बस्नुपर्ने हुन सक्छ। अपराध नस्वीकारुन्जेल थुप्रै पटक अदालत आउजाउ गर्नुपर्छ। जेल सजाय काटिसकेपछि अध्यागमनको लेङ्गेङ क्याम्पमा सारिन्छ र त्यहाँ ल्याएपछि घर जाने बाटो खुल्ने फर्केर आएका कामदारहरू बताउँछन्।
प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी), मलेसियाका आउटरिच अधिकृत रामचन्द्र नेपालका अनुसार त्यो क्याम्पमा आएपछि प्रत्येक कामदारले आफ्नो व्यक्तिगत र पारिवारिक विवरण पेश गर्नुपर्छ, जसमा घरको ठेगाना र परिवारका सदस्यको मोबाइल नम्बर पनि पर्छ। ट्राभल डकुमेन्ट बनाउन दूतावासले उक्त फर्म क्याम्पमा राखेको हुन्छ। “सोही फर्मको आधारमा त्यहाँका प्रहरीले पैसामा बिकेर दलाललाई सूचना दिने गर्छन्,” नेपाल भन्छन्।
दूतावासका कर्मचारी क्याम्पमा रहेका कामदारलाई भेट्न नआउने भएकाले त्यसको फाइदा प्रहरी र दलालले उठाउने पीडित कामदारहरू बताउँछन्।
नेपालका अनुसार नयाँ फोटो खिचेर फर्ममा व्यक्तिगत विवरण राखिसकेपछि दूतावासमा प्रमाणीकरणका लागि पठाइन्छ। प्रमाणीकरण भइसकेपछि त्यहाँको प्रहरीले नेपाली दलाललाई सम्पूर्ण विवरण पठाइदिन्छ। सोही विवरणको आधारमा दलालले घरपरिवारलाई फोन गरेर रकमको ‘बार्गेनिङ’ गर्दै ठग्ने धन्दा शुरु गर्छन्।
“दलालले परिवारलाई नाम-ठेगाना सोधेर कन्फर्म गरिसकेपछि ‘तपाईंको मान्छे जेलमा छ, यति रकम नदिए निकाल्न मिल्दैन’ भनेर इमोशनल ब्ल्याकमेलिङ गर्छन्,” आउटरिच अधिकृत नेपाल भन्छन्।
कामदारले भरेको फारमबाट परिवारको फोन नम्बर नभेटिए दलालले क्याम्पमा फोन गरेर परिवारका सदस्यको मोबाइल नम्बर माग्ने गर्छन्। अध्यागमनका प्रहरीले नेपाली दूतावासबाट फोन आएको छ भनेर कामदारहरूलाई कुरा गराउने गरेको नेपाल बताउँछन्।
पीडितहरूका अनुसार दलालले शुरुमा कामदारलाई टिकटका लागि भन्दै रु.३० हजार आवश्यक भएको परिवारलाई भन्न सुझाउँछन्। उक्त रकम हात परेपछि प्रहरीले दलाललाई पीडितसँग कुरा गराउन बन्द गर्छन्। त्यसपछि उनीहरूले कामदारका नेपालस्थित परिवारलाई फोन गरेर ‘तपाईंको मान्छे अस्पतालमा गम्भीर छ’ वा ‘मृत्यु भएकाले शव ल्याउनुपर्छ’ भन्नेजस्ता झुट बोलेर पैसा पठाउन लगाउँछन्।
“नेपाली दलालहरूबाट नेपाली कामदार ठगिने यस्तो सिलसिला मलेसियामा लामो समयदेखि चलिरहेको छ,” आउटरिच अधिकृत नेपाल भन्छन्।
https://www.himalkhabar.com/news/10123